काठमाडौँ। अवैध ओसारपसार तथा राजस्व चुहावटमा परिणाम देखिने गरी नियन्त्रण र काम गर्न सुरक्षा निकायलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन्।
विराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा कार्यक्रममा मन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रणमा कडाइको साथ लाग्न निर्देशन दिएका हुन्।
लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबिचको समन्वय र सम्बद्ध अधिकारीकै तदारुकता अभावमा अपेक्षा अनुरूपको प्रतिफल प्राप्त नभएको गृहमन्त्री लामिछानेले बताए।
सबै कार्यालयका प्रमुखले कानुनले दिएको अधिकार मात्रै निर्धक्क प्रयोग गर्ने हो भने पनि अधिकांश समस्या समाधान हुने मन्त्री लामिछानेको भनाइ छ।
‘भन्सारमा कसरी अवैध काम भइरहेको छ ? गैर–व्यावसायिक काममा को–को संलग्न छन् रु उनीहरू कानुनको कुन कमजोर पक्षको फाइदा उठाइरहेको छन् ? ’ अधिकारीहरूलाई प्रश्न गर्दै मन्त्री लामिछानेले भने, ‘सबै कुरा जान्दा–जान्दै पनि गलत क्रियाकलाप नियन्त्रण गर्न नसक्नुबारे गम्भीर समीक्षा गरेर सुधारका कार्य योजना बनाउनुस् ।’
जिल्लामा अवैध गतिविधि भइरहने तर नियन्त्रणको कानुनी अधिकार भएका सुरक्षा अधिकारीहरू त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए ।


































