काठमाडौँ। गृहमन्त्री रवि लामिछानेले छाउपडी अन्त्यका लागि आफू र आफ्नो मन्त्रालयबाट सबै अभ्यास गर्ने बताएका छन्। गृहमन्त्री लामिछानेले छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन सम्बन्धित मन्त्रालयबीचको समन्वयमा समिति बनाएर अगाडि बढ्ने बताएका छन् ।
सोमबार महिला जनप्रतिनिधि र अभियन्ताहरूले गृहमन्त्री लामिछानेलाई भेटेर छाउपडी गोठमा किशोरीमाथि बलात्कार भएको घटनाबारे ध्यानाकर्षण गराएका छन्। उनीहरूले छाउपडी उन्मुलनका लागि कडा कानुन बनाउन माग गरेपछि गृहमन्त्री लामिछानेले एउटा घटनामा केन्द्रित भएर भन्दा पनि यस्ता खाले घटनाहरू हुन नदिनका लागि काम गरिने बताए।
लामिछानेले भने, ‘अछाममा जुन घटना भयो, त्यो दःखद् हो । गृह प्रशासनले त्यसका सम्बन्धमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइराखेको छ । तर विषय यो मात्र होइन । आगामी दिनमा त्यस किसिमको घटना हुन कसरी नदिने रु हाम्रो ध्यान त्यसतर्फ छ । यसका लागि समिति बनाएर काम गर्नेछौँ ।’
समितिले यस्ता कुप्रथा अन्त्यका लागि यसअघि भएको अध्ययन, बनेका कानुन र अभियानको अध्ययन गरी कार्यान्वयन हुन नसक्नुको कारणसहित आवश्यक सुझाव गृह मन्त्रालयलाई दिने लामिछानेले बताए । छलफलमा सहभागी जनप्रतिनिधि तथा अभियन्ताहरूले छाउगोठ भत्काएर मात्रै कुप्रथा अन्त्य गर्न नसकिने भन्दै त्यसका लागि सचेतना नै मुख्य उपाय भएको बताएका थिए ।


































