काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसको दुरुपयोग गरिदिँदा त्यसले बैंकिङ्ग प्रणालीमा असर पुगेको भन्दै त्यस्ता व्यक्तिहरूमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताएका छन् ।
सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिमा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा गभर्नर अधिकारीले ऐनमा नै त्यस्ता व्यक्तिले कसुर गरेको ठहर्ने गरी व्यवस्था राख्न जरुरी रहेको औँल्याएका छन् । उनले भने ‘एकजना व्यक्तिका पछाडि लाखौँ फलोअर्स छन् । त्यो व्यक्तिले यो बैंक डुब्दै छ, यो बैंक सुरक्षित छ, जस्ता कुरा गरेर बैंकको पैसा नतिरौँ मिनाहा गरिदिन्छु भनेर आह्वान गर्ने र उसका १० हजार फलोअर्सले मात्रै केही समय पैसा तिरिदिएनन् वा बैंकमा लाइन लागे भने बैंकिङ्ग प्रणाली नै कोल्याप्स हुने अवस्था रहेको बताएका छन् ।’
उनले भने, ‘केही व्यक्तिले यस्तै काम गरिदिँदा गत एक डेढ वर्षदेखि एक त रिकभरी समस्या भइरहेको छ, कसैले २० लाखसम्म नतिरे हुन्छ भनिरहेका छन्, कसैले पाँच लाख नतिरे हुन्छ भनेर नेतृत्व गरेर हिँडिरहेका छन् ।
उनले बैंकिङ्ग प्रणाली फेल भयो भने एउटा बैंक मात्रै नभई समग्र प्रणालीमा असर गर्ने हुँदा त्यस्ता प्रचारप्रसार माथि कसुर तोकिनुपर्ने सुझाव दिए । उनले सहकारी मात्रै नभई यस्तै अवस्था रहने हो र उनीहरूले छुट पाइरहने हो भने कुनै पनि बैंक समस्यामा पर्न सक्नेतर्फ समितिको ध्यानाकर्षण गराएका हुन् ।
सोसल मिडियाको दुरुपयोगका कारण यो क्रियाकलाप बढ्दो रहेको उल्लेख गर्दै उनले भने, ‘यसैले कोही व्यक्तिले त्यसरी बैंकप्रति दुष्प्रचार गर्छ । बैंकको मान्यताभन्दा बाहिर गएर उसले काम गर्छ भने त्यो कसुरजन्य काम स्थापित गरिनुपर्छ ।’ अधिकारीले चेक अनादरले पब्लिकको डिपोजिटलाई दुरुपयोग हुने वित्तीय दायित्वलाई खलल पार्ने र समग्र आर्थिक प्रणालीलाई नै असर पार्ने हुँदा यसलाई कसुर मानिनुपर्छ भनेर यो ऐन २०६४ सालमा सुरु भएको जानकारी दिँदै अब चेक अनादर आफैँमा लेनदेन र देवानीको विषय हो वा सरकारवादी फौजदारी विषय हो भनेर समितिमा गम्भीर छलफल गर्न जरुरी रहेको सुझाव दिए ।
































