काठमाडौँ । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले अगामी आर्थिक वर्षमा शेयर धनीलाई १५ प्रतिशत लाभांश दिने बताएका छन् ।
आज सेयर बाँडफाँड कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ खनालले आजको दिनमा अर्को प्रतिस्पर्धी नभएका कारण राम्रो बिजनेस र मार्केटिङ रणनीतिमा गएर लगानीकर्तालाई राम्रो प्रतिफल वितरण गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
पूर्ण रूपमा सञ्चालनमा गएर काम गर्न सकिएको खण्डमा आगामी १५ वर्षसम्म कम्पनीको विस्तार हुँदै जान सक्ने खनालको आंकलन छ। उनले आगामी आर्थिक वर्षमा बैंकको तरलताको अवस्था सहज भई वेयर हाउस कम्तीमा ८५ प्रतिशत स्टोरेज क्षमता सञ्चालन गर्न सके लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने बताएका हुन् ।
खनालले कम्पनीले निर्माण गर्ने तीन वटामध्ये दुई वटा साइलोको निर्माण भई सञ्चालनको अवस्थामा रहेको र अर्को एउटा पनि आगामी त्रैमासमा सम्पन्न हुने बताएका छन् ।
सुनसरी जिल्लाको औरामनीमा १५ हजार मेट्रिक टन क्षमता सहित व्यवसाय प्रारम्भ गरिसकेको र पर्सा जिल्लाको विरुवागुठीमा २५ हजार मेट्रिक टन क्षमताको स्टोरेजको निर्माण भैसकेको खनालको भनाइ छ । साथै यसै सिजनमा दुवै स्थानमा गहुँ र मकैको भण्डारण थाल्ने उनको भनाई छ।
कपिलवस्तुमा निर्माण गर्न लागिएको १५ हजार मेट्रिक टन क्षमताको गहुँ भण्डारण साइलो जडानमा चीनमा फैलिएको कोरोना महामारीका कारण समान जडान कार्य तथा आपूर्तिमा एक वर्ष ढिला भए पनि आगामी त्रैमासबाट सञ्चालनमा आउने उनले बताए ।
नेपालमा वेयर हाउसको बिजनेस नयाँ भए पनि आफूहरूले भारतको अनुभवी नेशनल कमोडिटीज म्यानेजमेन्ट सर्भिस लिमिटेडको प्राविधिक परामर्शमा कार्य अगाडि बढाइएको सीइओ खनालले बताए ।
उनका अनुसार देशभित्र गहुँ र मकैको उत्पादन मात्रै प्रतिवर्ष २० लाख मेट्रिक टन र धानको उत्पादन २५ लाख मेट्रिक टन हाराहारीमा हुने गरेको छ । नेपाल वेयर हाउजिङ्गले निर्माण गरेको साइलोको भण्डारण क्षमता भनेको ५५ हजार मेट्रिक टन मात्र रहेकाले अझै पनि गहुँ, मकै, धान, भटमास जस्ता सबै अन्न भण्डारण गर्ने हो भने स्थानको अभाव रहेको बताए ।
हाल कम्पनीले पाइलट प्रोजेक्टका आधारमा तीनवटा वेयर हाउस सञ्चालन गरेको र यसबाट आउने प्रतिक्रियाबाट थप तीन ठाउँमा निकट भविष्यमा नै विस्तार गर्ने योजना बनाएको उनले बताए । नेपाल धितो पत्र बोर्ड कमोडिटी एक्सचेन्जको इजाजत दिने अन्तिम चरणमा रहेकाले कमोडिटी एक्सचेन्ज सञ्चालनमा आए वेयर हाउस अत्यावश्यक पूर्वाधार रहेको उनले बताए ।


































