काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरू समग्रमा राम्रो रहेको बताएका छन्।
कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठुलो असर परे पनि राष्ट्र बैंक बाह्य क्षेत्रमा सबल रहेको बताए।
अधिकारीले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु वेल क्यापिटलाइज रहेको दाबी गरेका छन् ।
गभर्नर अधिकारीले भने, ‘अर्थतन्त्र समग्र रूपमा अर्थतन्त्रका फण्डामेण्ट्ल्सहरु अत्यन्तै राम्रा छन् । हामी बाह्य क्षेत्रमा सबल छौँ । पछिल्लो समय बाढी, पहिरोको निकै ठुलो असर परेको हामीले देख्यौँ । जसको फलस्वरूप खाद्य, पेय पदार्थतिरको इन्प्लेसन अलिक बेसी बढेको छ । तर पनि औसतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ, त्यो भित्रै इन्प्लेसन बसेको अवस्था छ ।
बैंकिङ सिस्टममा तरलता एकदमै राम्रो छ । बैंकहरु वेल क्यापिटलाइज छन् । भला अलिकति स्ट्रेस प्रफिटमा छ । रिकोभरीमा छ । त्यो हामीले स्पष्ट रूपमा देखेका छौँ । रिकोभरीमा भइरहेको स्ट्रेस दुई किसिमबाट गाइडेड छ । अर्थतन्त्रमा अलिकति स्लो डाउन भएको असर हामी देख्छौँ । एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ’
गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताए ।
































