काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट नागरिकको घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बीमा दाबी भुक्तानी यथासम्भव छिटो गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
बाढी तथा पहिरोबाट भएको क्षतिको बीमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने सम्बन्धमा आज नेपाल बीमा प्राधिकरणमा आयोजित निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि बीमा कम्पनीहरूले छिटो दाबी भुक्तानी दिनुपर्ने बताएका हुन् ।
अध्यक्ष सिलवालले हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानी सम्बन्धी कागजातहरू मध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिस लगायतका कागजातहरू आवश्यक नपर्ने व्यवस्था मिलाइने, अन्य कागजातहरूको सूची समेत छोटो पारिने र बीमा सर्भेवरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिने जानकारी दिएका छन् ।
अध्यक्ष सिलवालले हालको विशेष परिस्थितिमा बीमा दाबी विस्तारै थपिँदै जान सक्ने र बाढी तथा पहिरोका कारण बीमालेख हराएको पनि हुन सक्नेतर्फ बीमा कम्पनीहरूले ध्यान दिनुपर्ने बताए ।
साथै उहाँहरूले हाल विशेष परिस्थिति सिर्जना भएकाले बीमा दाबी प्रक्रियालाई सरलीकरण गर्न, निश्चित दाबी भुक्तानीका लागि न्यून कागजात भए हुने व्यवस्था गर्न र सर्भे प्रतिवेदनलाई छिटोछरितो तुल्याउनका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरणसँग आग्रह गरेका छन् । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुंगेल (अधिकारी) र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।






























