काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सहरी यातायात सुधार, जग्गा एकीकरण व्यवस्थापन र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
महानगरले सुरक्षित र दिगो यातायात प्रणाली विकास गर्ने लक्ष्यसहित पैदल यात्री र साइकल प्रयोगकर्तामैत्री पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको छ । साथै, “साझा यातायात”मार्फत रात्रिकालिन बस सेवा विस्तार गर्दै सहरलाई अझ चलायमान बनाउने तयारी गरिएको छ ।
दीर्घ समयदेखि अलपत्र रहेका नयाँ बजार र चःमति जग्गा एकीकरण आयोजनालाई हस्तान्तरण प्रक्रियामार्फत टुंग्याउने तथा मनोहरा परियोजनालाई आगामी वर्षभित्र पूरा गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिने महानगरले जनाएको छ ।
त्यस्तै, सांस्कृतिक र ऐतिहासिक क्षेत्रहरूको संरक्षण तथा उपयोगलाई ध्यान दिँदै सुन्धारा–धरहरा क्षेत्रको व्यवस्थापन, भृकुटीमण्डपमा आधुनिक सम्मेलन केन्द्र निर्माण र काठमाडौँ प्लाजालाई दीर्घकालीन रूपमा महानगरको उपयोगमा ल्याउन संघीय सरकारसँग समन्वय गर्ने नीति लिइएको छ ।
सामाजिक क्षेत्रमा भने नदी किनार तथा जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिएका नागरिकहरूको व्यवस्थापनका लागि संघ सरकारसँग सहकार्य गर्ने योजना छ । साथै, सहरी गरिब, विस्थापित र बेसहारा परिवारका लागि उपयुक्त स्थानमा सामूहिक आवास निर्माण गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


































