काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली सेयर बजारमा गिरावट देखिएको छ। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब १ प्रतिशतले घट्दै २६.२९ अंकले ओरालो लागेर २६२७.११ विन्दुमा पुगेको हो।
आज कुल ३५६ कम्पनीका ७५ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा करिब ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा पनि कमी आएको छ।
उपसमूहतर्फ हेर्दा कारोबारमा आएका सबै १३ समूहमा गिरावट देखिएको छ। व्यापार समूह सबैभन्दा धेरै ३ प्रतिशतभन्दा बढीले घटेको छ भने बैंकिङ, फाइनान्स, उत्पादन, जलविद्युत् लगायतका समूह पनि दबाबमा रहे।
कारोबार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ अगाडि रह्यो, जसमा सबैभन्दा धेरै रकमको किनबेच भएको छ। यसपछि सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत् र ग्लोबल आइएमई बैंक डिबेञ्चरमा उल्लेखनीय कारोबार भएको छ।
यसदिन केही कम्पनीको सेयर मूल्य भने उच्चदरले बढेको पनि देखिएको छ। सानिगाड हाईड्रो, स्नो रिभर्स र कालंगा हाईड्रोका सेयरमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र बाराही हाईड्रोका लगानीकर्ताले पनि नाफा कमाएका छन्।
यता, थ्रीस्टार हाईड्रोको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ। साथै नेपाल फाइनान्स, खानीखोला हाईड्रो र उपकार लघुवित्तका सेयर मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ।

































