काठमाडौं । सेयर बजारमा लगानीकर्ताको कन्फिडेन्स फर्किँदै गएको छ । विगत केही महिनादेखि लगानीकर्तामा देखिएको निराशा अब उत्साहमा परिणत हुँदै गएको विश्लेषकहरु बताउँछन् । साताको कारोबारको बिहीबार सेयर बजार परिसूचक नेप्से ३१.५४ अंकले बढेर २,६९५ अंकमा पुगेको छ। यो नेप्सेको साउन १२ गतेयताकै उच्च बिन्दु हो।
बजारमा परिसूचकसँगै कारोबार रकमसमेत बढेको छ। बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यो कारोबार रकम वैशाख ३ गतेयताकै उच्च हो। उक्त दिन ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो।
१८१ कम्पनीको सेयर मूल्य बढ्यो
बिहीबार कारोबारमा आएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ। त्यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बजारमा सबै समूहगत सूचक सकारात्मक देखिएका छन्। अन्य समूह २.४५ प्रतिशतले बढ्दा बैंकिङ समूह २.२८ प्रतिशत र होटल तथा पर्यटन समूह २.०५ प्रतिशतले उकालो लागेका छन्। फाइनान्स समूह १.६९ प्रतिशत, विकास बैंक १.५५ प्रतिशत, जीवन बीमा ०.६८ प्रतिशत, लघुवित्त ०.५४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशतले बढेका छन्।
त्यसैगरी, जलविद्युत् समूह ०.३६ प्रतिशत, लगानी समूह ०.२४ प्रतिशत, निर्जीवन बीमा ०.१३ प्रतिशत र व्यापार समूह ०.०३ प्रतिशतले बढेका छन्।
बेनी हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्यो
बिहीबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। सोपान फर्मास्युटिकल्सको ८.७२ प्रतिशत, नेपाल पुनर्बीमाको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत, एनआईसी एसिया बैंकको ४.६९ प्रतिशत र कालिन्चोक हाइड्रोपावरको ४.४१ प्रतिशतले मूल्य बढेको छ।
यता, एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ३.६५ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ३.१४ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको २.७२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर अगाडि रहेका छन्।
लगानीकर्ताको आत्मविश्वास बढ्दा बजारमा सुधार
सेयर विश्लेषक सुवासचन्द्र भट्टराईले लगानीकर्ताको आत्मविश्वास बढ्दै गएकाले बजारमा सकारात्मक प्रभाव परेको बताएका छन्। सरकारका सकारात्मक नीतिहरूले पनि लगानीकर्ताको मनोबल बढाउन भूमिका खेलेको उनको विश्लेषण छ।
भट्टराईका अनुसार सेयर बजारले पाँच वर्षको कठिन चरण पार गरिसकेको छ। अबको तीन वर्षमा बजारले राम्रो गति लिने अपेक्षा गर्न सकिने उनको भनाइ छ।
उनले बजारलाई दिगो रूपमा अगाडि बढाउन आधारभूत रूपमा सबल कम्पनीका सेयरले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। लगानीकर्ताको विश्वास बढाउन सरकारले अघि सारेका सकारात्मक नीतिहरूले पनि सहयोग पुर्याएको उनको धारणा छ।
तिहारसम्म बजार बढ्ने विश्लेषकको अपेक्षा
भट्टराईले तिहारसम्म सेयर बजारमा वृद्धि कायम रहने अपेक्षा व्यक्त गरेका छन्। उनका अनुसार लगानीकर्ताले हतारमा निर्णय लिनुभन्दा धैर्य राखेर लगानी गर्न सके राम्रो प्रतिफल प्राप्त गर्ने अवसर हुन सक्छ।
यद्यपि, बजारको आगामी दिशा आर्थिक अवस्था, कम्पनीहरूको वित्तीय प्रदर्शन, नीतिगत परिवर्तन र लगानीकर्ताको व्यवहारमा निर्भर रहनेछ। त्यसैले बजारमा देखिएको पछिल्लो उत्साहसँगै लगानी गर्नुअघि कम्पनीको वित्तीय अवस्था र आधारभूत पक्षको विश्लेषण गर्नुपर्ने देखिन्छ।


































