काठमाडौँ। इन्धन अभाव बढ्दै गएको र खर्च घटाउने आवश्यकतालाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले आफ्ना कर्मचारी तथा अधिकारीहरूका लागि ‘कार पुलिङ’ प्रणाली लागू गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार इन्धन संकटका कारण दीर्घकालीन असर पर्न सक्ने सम्भावनालाई न्यून गर्न यो कदम चालिएको हो।
विश्वव्यापी रूपमा देखिएको इन्धन अभावको प्रभावलाई मध्यनजर गर्दै महानगरले अब उपलब्ध सवारी साधनहरू आलोपालो प्रयोग गर्ने व्यवस्था मिलाएको जनाएको छ। यसअनुसार एउटै क्षेत्र वा रुटबाट आउने अधिकारीहरूले एउटै सवारी साधन साझा गरेर कार्यालय आउन–जानुपर्नेछ।
डंगोलले इन्धनको सीमित आपूर्तिका कारण अत्यावश्यक सेवामा समेत समस्या आउन सक्ने भन्दै सवारी साधनको प्रयोग घटाउनु आवश्यक भएको उल्लेख गरिन्। उनले भनिन्, "अहिलेको अवस्थामा इन्धन बचत गर्नु अपरिहार्य भएकाले ‘कार पुलिङ’ सुरु गरिएको हो।"
यसअघि नै महानगरले ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गर्ने निर्णय गरिसकेको छ। सो निर्णयलाई थप प्रभावकारी बनाउन नयाँ प्रणाली ल्याइएको हो।
महानगरका अनुसार कर्मचारीहरूको बसोबास क्षेत्रका आधारमा समूह बनाएर यो व्यवस्था कार्यान्वयन गरिनेछ। समूहमा रहेका अधिकारीहरूले पालैपालो आफ्ना सवारी साधन प्रयोगमा ल्याउने र सोही सवारीमा अन्य सहकर्मीलाई पनि ल्याउने–पुर्याउने व्यवस्था हुनेछ।
यस कदमले कार्यालय प्रयोजनका सवारी साधनको संख्या घट्नुका साथै इन्धन बचतमा उल्लेखनीय सहयोग पुग्ने विश्वास महानगरपालिकाले व्यक्त गरेको छ।


































