काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित सांसद विनोद चौधरीले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम कटौती गरेकोमा गम्भीर ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारको यस कदमको कडा विरोध गर्दै तत्काल निर्णय फिर्ता लिन र किसानको माग सम्बोधन गर्न जोडदार माग गरेका हुन् ।
सरकारले उखु किसानलाई प्रतिक्विन्टल उपलब्ध गराउँदै आएको ७० रुपैयाँ अनुदानलाई आधाले कटौती गरेपछि देशभरका किसानहरू आन्दोलित बनेका छन् ।
यसै क्रममा भदौ ८ देखि १३ गतेसम्म राजधानीमा प्रदर्शन गरेका उनीहरूले तत्काल माग पूरा नभए राजमार्ग अवरुद्ध गर्ने चेतावनीसहित जिल्ला फर्किएका छन् ।
सांसद चौधरीले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको संज्ञा दिँदै उखु किसानहरूले लामो समयदेखि आफ्नो उत्पादनको उचित मूल्य नपाएर निराश हुनुपरेको बताए। उनले भने, “उत्पादन लागत लगातार बढिरहेको र रासायनिक मलको अभावले किसान थप मर्कामा परेका छन्। यस्तो अवस्थामा सरकारले दिँदै आएको अनुदान कटौती गर्नु दुर्भाग्यपूर्ण हो।”
उखु र केरा खेतीका लागि अन्य बालीको तुलनामा दोब्बर रासायनिक मल आवश्यक पर्ने भए पनि किसानले न्यूनतम मलसमेत पाउन नसकेको तितो यथार्थ उनले सदन समक्ष राखे।
हालै माइतीघरमा भएको किसान आन्दोलनप्रति पूर्ण समर्थन जनाउँदै सांसद चौधरीले सरकारलाई किसानमैत्री नीतिहरू लागू गर्न र आफ्नै पुराना निर्णयहरूबाट पछि नहट्न आग्रह गरे। उनले भने, "सरकारले तत्काल अनुदान रकम उपलब्ध गराई किसानको श्रमको उचित सम्मान गर्नुपर्छ ।"
उल्लेखनीय छ कि सांसद चौधरीले उखु तथा केरा किसानका समस्याबारे संसदमा निरन्तर आवाज उठाउँदै आएका छन् । विगतमा पनि उनले उखु किसानलाई समयमै भुक्तानी दिलाउन महत्वपूर्ण भूमिका खेलेको किसानहरू बताउँछन्। कृषि क्षेत्रका उत्पादन, बजार, मूल्य, मल तथा भुक्तानीजस्ता विषयमा उनको निरन्तरको पहलले किसानहरूलाई राहत मिल्दै आएको छ।






































