काठमाडौँ । एन आई सी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई दन्त परीक्षण तथा उपचारमा छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।सम्झौतापछि बैंकका ग्राहकहरूले कान्तिपुर डेन्टलका शाखाहरूमा दाँत उपचार गराई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले जनरल हस्पिटल सेवा जस्तै प्रयोगशाला, शैय्या शुल्क र आइसीयु, पोष्ट अप बेड चार्जमा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यस्तै फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवामा १० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् । त्यसमा दाँतमा सिमेन्ट भर्ने, स्केलिङ गर्ने एवम् आरसीटी तथा दाँत निकाल्ने सेवाहरू रहेका छन् । यस्तै दाँतको विशेष उपचार सेवा डेन्टल इम्प्लान्ट्स, ब्रेस अलाइनर, डर्माटोलोजिष्ट र विनरमा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् ।
ग्राहकहरूले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर÷कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्त गर्न सकिनेछ । कान्तिपुर डेन्टर सेन्टरको काठमाडौंस्थित सतुंगल, चितवनस्थित भरतपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा शाखाबाट पनि उक्त छुट सुविधा उपभोग गर्न सकिने बैंकले जनाएको छ ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी छुट सेवाको लाभ उठाउन सक्नेछन् । यस्तै मोबैंक एपमार्फत भुक्तानी गर्दा पनि छुटको व्यवस्था गरिएको छ ।






































