काठमाडौँ । कांग्रेस नेता गणेश लामालाई सर्वोच्च अदालतले सफाइ दिएको छ । उनलाई न्यायाधीश द्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको फैसला उल्टाउँदै सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको हो।
लामालाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा करिब ७ वर्ष अघि २०७५ साउन २४ मा लामा दोषी ठहर गरेको थियो । उनलाई १ वर्ष कैद, बिगो बराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना गर्ने फैसला गरेको थियो ।
लामाले विभिन्न आपराधिक क्रियाकलापबाट रकम कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १२ वर्ष अघि २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले कम सजाय गरेको भन्दै विभाग सर्वोच्च अदालत गएको थियो । विभागको पुनरावेदनमा सर्वोच्चले जिकिर नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।






































