काठमाडौं । मंगलबार आज बिहान राजधानी काठमाडौँको हावाको गुणस्तर ‘अस्वस्थ’ रहेको छ ।
विश्वभरमा वायुप्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्वीट्जरल्यान्डको संस्था आइक्यू एयरका अनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० स्थानमा रहेको छ । आज बिहान १० बजे काठमाडौँको एक्यूआई १ सय ५१ रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नै एक्यूआई १ सय ५० भन्दामा माथि पुगेको वायुलाई मानवस्वास्थ्यका लागि ‘अस्वस्थ’ मान्ने गरेको छ ।
आईक्यू एयरको तथ्याङ्कमा आज पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा रहेको छ । त्यहाँ एक्यूआई ७७३ रहेको छ । जुन निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । त्यहाँको एक्यूआई ३११ रहेको छ ।
त्यसपछि शीर्ष स्थानमा क्रमशः कंगोको किनसासा, उज्बेकिस्तानको तास्केन्त, भियतनामको हानोई, इजिप्टको कायरो, बहराइनको मानामा, बोस्निया हर्जगोविनाको साराजेभो र भारतको मुम्बई रहेका छन् ।
विश्वमा वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेकोले यसलाई विश्व स्वास्थ्य संगठन डब्लुएचओले यसलाई प्रमुख वातावरणीय समस्याको रुपमा परिभाषित गरेको छ । वायु प्रदूषणकै कारण नेपालमा मात्रै वर्षेनी ४२ हजार १ सय मानिसको मृत्यु हुने गरेको अनुमान स्टेट अफ ग्लोबल एयर २०२० ले गरेको थियो ।
यस्तै काठमाडौं उपत्यकामा मात्रै वार्षिक ५ हजार ८० मृत्यु प्रदुषित हावाको कारण हुने गरेको युएसएड क्लिन एयरको तथ्यांक छ ।
नेपालको केन्द्रीय राजधानी काठमाडौँमा पनि पछिल्ला केही वर्षयता वायु प्रदूषणका नयाँ–नयाँ रेकर्ड कायम हुँदै आएका छन् ।
































