काठमाडौँ । सरकारले नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्ले खापुङलाई १९ गतेदेखि लागू हुने गरी आईजीपी नियुक्त गरेको हो ।
हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जानु अघि बसेको मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी प्रमुखको टुंगो लगाएको हो।
खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख हुन्। उनी हालका आईजीपी थापासँगै प्रहरी सेवामा प्रवेश गरेका थिए।
यसअघि एउटै ब्याचका अधिकारीहरूमध्ये बसन्तबहादुर कुँवर र दिपक थापा आईजीपी बनेका थिए। खापुङ आफ्नो ब्याचबाट एकल प्रतिस्पर्धीका रूपमा आईजीपी बनेका हुन्।
खापुङको कार्यकाल पनि सेवा अवधि वा नयाँ प्रहरी ऐन अनुसार थप हुने नहुनेमा निर्भर रहनेछ। अहिलेको प्रावधानअनुसार उनले २६ कात्तिक २०८२ मा अनिवार्य अवकाश पाउनेछन्।






































