काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा आगमी चैत ४ गतेदेखि चैत १० गतेसम्म ‘ग्लोबल मनी विक’ मनाइने भएको छ।
‘अर्गनाइजेसन अफ इकोनोमीको ओपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी) को अनुरोधबमोजिम नेपाल राष्ट्र बैंकको संयोजनमा ‘ग्लोबल मनी विक २०२५’मनाउन लागिएको हो।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ‘ग्लोबल मनी विक’ विश्वभर मनाउने गरिएको छ ।
यस वर्ष १३औँ शृङ्खलामा मनाउन लागिएको ग्लोबल मनी विक २०२५ को नारा ‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ रहेको छ।
ग्लोबल मनी वीक युवाहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने साप्ताहिक अभियान हो । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह ओइसीडीको संयोजनमा विश्वका धेरै मुलुकमा मनाउने गरिन्छ ।
सप्ताहव्यापी कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहन्छ। यसका अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला सङ्घसंस्थाहरू पनि यस अभियानमा आबद्ध हुन सक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था र निकायहरूलाई ग्लोबल मनी विक भव्य रूपमा मनाउनका लागि आह्वान गर्दै आफ्ना कार्यक्रमहरूको जानकारी उपलब्ध गराउन केन्द्रीय बैंकले आग्रह गरेको छ।

































