काठमाडौं । जगदुल्ला हाइड्रोपावरबारे सार्वजनिक लेखा समितिको निर्णयमा विपक्षी दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले फरक मत राखेका छन् ।
‘जगदुल्ला हाइड्रोपावरको निर्माण सम्बन्धी बोलपत्र आह्वान तथा प्रक्रियामा, मूल्याकंन समितिको निर्णय आदिमा नक्कली कागजात पेश भएको, गलत मनसायका साथ प्रक्रियामा समेत चलखेल भएको देखिएको गम्भीर प्रश्न उठेका भन्दै उनीहरूले फरक मत राखेका छन् ।
यसअघि लेखा समितिले कानुन अनुसार जगदुल्ला हाइड्रोपावरको निर्माण अगाडि बढाउन निर्देशन दिएको थियो । जसमा माओवादी केन्द्रका सांसद अमनलाल मोदी, रास्वपाका मनिष झा,असीम शाह र हरि ढकाल तथा स्वतन्त्र सांसद सिंहले फरक मत राखेका हुन् ।
यो विषयमा मूल्याकंन समितिका पदाधिकारीहरू सहित जगदुल्ला हाइड्रोपावरको सीईओ ९प्रमुख कार्यकारी अधिकृत० र यसमा जोडिएका अन्य पदाधिकारीहरूको संलग्नताको आवश्यक छानबिन गरी सत्य तथ्य पत्ता लगाउनुपर्ने उनीहरूको माग छ ।
यसबारे अध्ययन अनुसन्धान तथा छानबिन अगाडि नबढाई निर्माण प्रक्रिया अगाडि बढाउँदा भ्रष्टाचार र अनियमितता हुने भएकोले जिम्मेवार निकायहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्यूरो, सार्वजनिक खरिद अनुगमन कार्यालयको ध्यानाकर्षण गर्नुपर्ने उनीहरूको माग छ ।
स्याङ्चेन हाइड्रोपावर परियोजना चीनमा छ कि छैन समेतको प्रश्नसहित सम्बन्धित चिनियाँ दूतावास, चीन सरकार लगायतका निकायले १५ दिनभित्र छानबिन गरी प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश गर्न निर्देश गर्नुपर्ने सांसदहरूको माग छ ।






































