काठमाडौँ । जनकपुरधाममा छात्रवृत्तिको विषयलाई लिएर त्यहाँका निजी स्कुल तथा कलेजहरू आजदेखि अनिश्चित कालका लागि बन्द भएका छन्।
छात्रवृत्तिमा अध्ययनको शुल्क विषयलाई हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्तरुपमा आजदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । केही दिनअघि उपमहानगर र नेपाल विद्यार्थी संघबीच भएको सम्झौता सच्याउन आग्रह गरिए पनि बेवास्ता गरिएकाले विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको निजी विद्यालयका संगठनहरुले जनाएका छन्।
संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिका १४ कात्तिकमा गरेको निर्णय फिर्ता हुनुपर्ने संगठनहरुको माग छ।
‘छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि मिति २०८१-०५ र १४ गतेमा हिसान धनुषा आबद्ध संस्थागत विद्यालयहरूमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरूबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि पुनस् २०८१-०७-१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने।’ तीन वटै वटै संगठनले शनिवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।



































