काठमाडौँ । टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन गरेको निरन्तरको प्रतिबद्धता अनुरूप २०२५ को पहिलो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्म आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पत्ता लगाएर त्यसलाई हटाउन आफूले उठाएका सक्रिय कदमहरूको विवरण राखेको छ। यसले प्रयोगकर्ताहरूलाई सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने अपेक्षा टिकटकले लिएको छ ।
सन् २०२५ को पहिलो त्रैमासमा टिकटकले कम्युनिटी गाइडलाइन उल्लंघन गर्ने नेपालका १८ लाख ७६ हजार ५६३ वटा भिडियोहरू हटाएको छ। नेपालमा सक्रिय रूपमा हटाइएका भिडियोको दर ९९.६ प्रतिशत रहेको छ जसमा ९७.८ प्रतिशत भिडियोहरू २४ घण्टाभित्रै हटाइएका थिए।
विश्वव्यापी रूपमा टिकटकले यो त्रैमासिकमा २११ मिलियन भिडियोहरू हटाएको छ जुन यस प्लेटफर्ममा अपलोड गरिएको कुल कन्टेन्टको करिब ०.९ प्रतिशत हो । हटाइएका भिडियोमध्ये १८ करोड ४३ लाख ७८ हजार ९८७ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए । जबकि ७५ करोड २५ हजार १८४ भिडियो थप समीक्षा गरेपछि पुनःस्थापित गरिएका हुन् । सक्रिय रूपमा हटाइएका भिडियोहरूको दर ९९ प्रतिशत रहेको छ जसमा ९४.३ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए।
हटाइएका भिडियोहरूको ३०.१ प्रतिशत कन्टेन्ट टिकटकको कन्टेन्ट पोलिसीसँग मेल नखाने संवेदनशील वा वयष्क विषयवस्तु भएका थिए भन्ने यस प्रतिवेदनले देखाउँछ। थप ११.५ प्रतिशत भिडियोहरूले प्लेटफर्मको सुरक्षा र नैतिक मापदण्ड उल्लंघन गरेका थिए । यस्तै जबकि १५.६ प्रतिशत भिडियोहरूले गोपनीयता र सुरक्षा नियमहरू तोडेका थिए। यसका साथै हटाइएका भिडियोहरूमध्ये ४५.५ प्रतिशत गलत सूचनाका रूपमा फ्ल्याग गरिएका थिए । १३.८ प्रतिशत भिडियोहरू इडिट गरिएका वा एआईले बनाइएको भनेर फ्ल्याग गरिएका कारण हटाइएका थिए ।
टिकटकले कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा प्रकाशित गर्दै आएको छ जसले कन्टेन्ट र अकाउन्ट सम्बन्धी कारबाही बारे स्पष्ट जानकारी दिन्छ । यसले प्रयोगकर्ताप्रति टिकटक पारदर्शी रहेको पनि देखाउँछ। २०२५ को पहिलो त्रैमासिक विस्तृत रिपोर्ट तथा टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिहरूबारे थप जानकारीका लागि टिकटकको ट्रान्सपेरेन्सी सेन्टरमा जान सकिन्छ।
टिकटकको मुख्य कार्यालय लस एन्जलस र सिंगापुरमा छ भने यसका अन्य कार्यालयहरू न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा छन्।






































