National life

डाइनोसरको रगत चुस्ने ९ करोड ९० लाख बर्ष पुरानो लामखुट्टेको जिवावशेष फेला

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०२ वैशाख २०८३, बुधबार
1.3kShares
डाइनोसरको रगत चुस्ने ९ करोड ९० लाख बर्ष पुरानो लामखुट्टेको जिवावशेष फेला
ncell

काठमाडौँ। विश्वकै सबैभन्दा पुरानो मानिएको लामखुट्टेको जीवावशेष फेला परेको छ। जर्मनीको एलएमयू विश्वविद्यालयका अनुसन्धानकर्ताले म्यानमारको काचिन क्षेत्रमा रुखको खोटो (एम्बर) भित्र सुरक्षित अवस्थामा रहेको लामखुट्टेको लार्भाको अवशेष पत्ता लगाएका हुन्।

उक्त नमुना करिब ९ करोड ९० लाख वर्ष पुरानो भएको बताइएको छ। अध्ययनका अनुसार यो लार्भा अहिले पाइने कुनै पनि लामखुट्टे प्रजातिसँग पूर्ण रूपमा मेल खाँदैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैले वैज्ञानिकहरूले यसलाई नयाँ प्रजातिका रूपमा वर्गीकृत गर्दै ‘क्रेटोसाबेथेस प्राइमेभस’ नाम दिएका छन्।

यो खोज विशेष मानिनुको अर्को कारण के हो भने, एम्बरभित्र सुरक्षित अवस्थामा भेटिएको लामखुट्टेको लार्भा मात्रै होइन, मेसोजोइक युगसँग सम्बन्धित पहिलो लार्भाको जीवाश्म पनि यही हो। यसअघि सो युगका वयस्क लामखुट्टेका जीवाश्महरू मात्र फेला परेका थिए।

अनुसन्धानले देखाएअनुसार उक्त लार्भाको बनावट अहिलेका लामखुट्टेसँग धेरै हदसम्म मिल्दोजुल्दो छ। अन्य प्राचीन जीवाश्महरूमा देखिने असामान्य विशेषताभन्दा फरक, यसमा आधुनिक प्रजातिसँग नजिकका लक्षणहरू भेटिएका छन्।

यसअघि करिब उही समयका भेटिएका लामखुट्टे जीवाश्महरू ‘बुर्माकुलाइसिन’ नामक विलुप्त समूहका वयस्क थिए, जसको संरचना आजका लामखुट्टेभन्दा निकै भिन्न थियो। तर नयाँ प्रजाति भने आधुनिक समूहसँग बढी सम्बन्धित देखिएको छ।

वैज्ञानिकहरूको अनुमान अनुसार लामखुट्टेको उत्पत्ति जुरासिक कालमा, करिब २० करोडदेखि १४ करोड वर्षअघिको अवधिमा भएको हो। त्यो समय पृथ्वीमा डाइनोसरहरूको प्रभुत्व थियो। नयाँ खोजले मेसोजोइक युगसम्म आइपुग्दा लामखुट्टेहरू विभिन्न स्वरूपमा विकसित भइसकेको संकेत गरेको छ।

अध्ययनले करिब १० करोड वर्षदेखि लामखुट्टेका लार्भाको संरचना धेरै हदसम्म स्थिर रहेको देखाएको छ। आजका स्याबेथिनी समूहका लार्भा जस्तै, यो प्राचीन लार्भा पनि सानो पानी जम्ने ठाउँ जस्तै रुखका खोक्रा भागमा बस्ने गरेको अनुमान गरिएको छ।

एम्बर सामान्यतया रुखबाट निस्किएको खोटो जमेर बन्ने पदार्थ हो, जसले विभिन्न जीवका अवशेषलाई सुरक्षित राख्न सक्छ। म्यानमारको एम्बरमा प्रायः माकुरा, मौरी, कमिला, भँमरा, बीटल र झिँगा जस्ता जीवहरू भेटिन्छन्। तर पानीमा बस्ने लार्भा यसरी सुरक्षित रहनु अत्यन्त दुर्लभ मानिन्छ, किनकि यस्तो प्रक्रिया हुने सम्भावना निकै न्यून हुन्छ।

यस खोजले लामखुट्टेको प्रारम्भिक विकासक्रम बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ। साथै, स्याबेथिनी जस्ता समूहका लामखुट्टेहरू अत्यन्त प्राचीन समयदेखि नै अस्तित्वमा रहेको र उनीहरूको बनावट लामो समयसम्म लगभग उस्तै रहेको संकेत पनि यसले दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?