काठमाडौँ । जेन जेडले माइतीघर मण्डलामा भोलि आयोजना गर्न लागेको स्वस्फुत आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईँलाई ‘निषेध’ गर्ने भएको छ । यदि उनी उपस्थित भएमा ‘नट अलाउड’ लेखिएको ब्यानर देखाएर विरोध गर्ने तयारी गरिएको एक अभियन्ताले जानकारी दिएका छन् ।
जेन /जेडरजेन जी पुस्ताले सामाजिक सञ्जाल निशर्त खोलिनुपर्ने, वृद्ध नेताहरूले प्रधानमन्त्री नबन्ने प्रतिबद्धता जनाउनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष नियुक्ति हुनुपर्ने लगायतका मागसहित आन्दोलन गर्न लागेका हुन् । प्रसाईँले भने आज फेसबुकमार्फत आफू पनि आन्दोलनमा सहभागी हुने घोषणा गरेका थिए।
तर, आज तीनकुनेमा बसेको जेन जेडका अगुवाहरूको बैठकले प्रसाईँलाई सहभागी नगराउने निर्णय गरेको छ। अभियानका सदस्य आदित्य मिश्रका अनुसार, “उहाँ क्लिन मान्छे होइन, अदालतमा मुद्दा खेपिरहेका व्यक्ति हुन्। हाम्रो आन्दोलन सबैका लागि खुला छ तर उहाँ आएमा ‘नट अलाउड’ ब्यानर देखाउने निर्णय भएको छ।”
उनले आन्दोलन विशुद्ध जेन जेडको आवाज भएको दोहोराउँदै, आजको बैठकमा भोलिको कार्यक्रमलाई कसरी अघि बढाउने भन्नेबारे रणनीति तय भएको जानकारी दिए। भोलि बिहान ९ बजेदेखि थापाथलीस्थित माइतीघर मण्डलामा जेन जेडले आन्दोलन सुरु गर्नेछन्।






































