काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका हरिप्रसाद कँडेललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बन गरेको छ।
चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक थिए । उनलाई बिहीबार रूपन्देही प्रहरीले चितवनबाट पक्राउ गरेको थियो ।
कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र तयार पारेर नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयहरूको नाममा विद्यार्थीलाई विदेश पठाउने कार्यमा संलग्न भएको आरोप लागेको छ।
यसअघि रूपन्देहीको बेलहिया क्षेत्रस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर निवासी २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए। यादवसँगै ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम र स्टिकरहरू बरामद भएका थिए। उनले प्रहरीलाई बयान दिँदै आफूले यी सामग्रीहरू चितवनका कँडेलबाट ल्याएको खुलासा गरेका थिए।
यही घटनाक्रमलाई ध्यानमा राख्दै रास्वपाले कँडेललाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको घोषणा गरेको हो। रास्वपाको केन्द्रीय अनुसन्धान आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रहरी अनुसन्धानमा सहयोग पुगोस् भनेर कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी तत्काल प्रभावबाट निलम्बन गरिएको छ।”
पूर्व शिक्षक समेत रहेका कँडेल चितवनको लायन्सचोकमा ‘कलेज कोच नेपाल प्रालि’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार उनले त्रिभुवन विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद्, राष्ट्रिय परीक्षा बोर्ड लगायत नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र तयार पार्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।



































