काठमाण्डौ । नेपालको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो कुल गार्हस्थ्य उत्पादनको (जीडीपी) को ४२ दशमलव ९४ प्रतिशत हो।
चालु आर्थिक वर्षको सुरुवतामा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । जुन पछिल्लो १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड थप वृद्धि भई २६ खर्ब २२ अर्ब ४० करोड पुगेको हो ।
२०७८ सालमा भएको जनगणनानुसार यो ऋण भाग लगाउँदा प्रति व्यक्ति झन्डै ९० हजार रुपैयाँ हुन आउँछ। वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ६९ प्रतिशत अर्थात् १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ रहेको छ।
चालू आर्थिक वर्षको पहिलो १० महिनामा सरकारले झन्डै ४ खर्ब रुपैयाँ ऋण उठाएको छ । पुरानो ऋणको साँवा ब्याज भुक्तानीमै ३ खर्ब ८ अर्ब रुपैयाँ खर्च भएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा वैशाख मसान्तसम्ममा कुल ऋण सेवा खर्च ५ दशमलव ०५ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
सरकारको वार्षिक लक्ष्यानुसार आन्तरिक ऋण उठाउन प्रगति देखिए पनि बाह्य ऋण भने वार्षिक लक्ष्यको तुलनामा कम उठेको छ । आन्तरिक ऋण प्राप्तिको प्रगति ९१ दशमलव २५ प्रतिशत र बाह्य ऋण प्राप्तिको प्रगति ४१ दशमलव ३३ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा ३ खर्ब ९० अर्ब ८३ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कूल ऋण प्राप्ति ७१.४५ प्रतिशत रहेको छ ।


































