काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय नाफा आर्जन गरेको छ। नेप्सेले उक्त अवधिमा १ अर्ब ८० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ७८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा नेप्सेले १ अर्ब १ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
नेप्सेको आम्दानीमा भएको उल्लेखनीय वृद्धि धितोपत्र कारोबारबाट प्राप्त राजस्वका कारण सम्भव भएको हो।
धितोपत्र कारोबारको आम्दानी बढेसँगै नेप्सेको कुल नाफामा उल्लेखनीय सुधार आएको कम्पनीले जनाएको छ। नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने सञ्चित मुनाफा २ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, अन्य पुँजी तथा कोषमा नेप्सेको ४ अर्ब ८९ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
नाफा वृद्धिसँगै नेप्सेको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष १०० रुपैयाँ ३७ पैसाबाट बढेर चालु अवधिमा १८० रुपैयाँ २६ पैसा पुगेको छ। पछिल्लो समय धितोपत्र बजारमा कारोबार बढ्नु, लगानीकर्ताको सक्रियता वृद्धि हुनु र बजार चलायमान बन्दै जानुले नेप्सेको वित्तीय नतिजामा सकारात्मक प्रभाव पारेको जानकारहरूको धारणा छ ।


































