काठमार्डाैँ । बैंक भन्ने बित्तिकै तपाईंको दिमागमा कस्तो चित्र आउँछ ? एउटा भवन जसको आडैमा बैंकको नाम लेखिएको ठूलो बोर्ड, गेटमा सेक्युरिटी गार्ड अनि भित्र प्रवेश गरेपछि काउन्टर/टेलर अगाडि सेवाग्राहीको लामो लाइन । यही होइन ? तर अब यस्तो पनि बैंक हुन्छ जसको कुनै भौतिक शाखा कार्यालय नै हुँदैन भनेर भनियो भने तपाईं पत्याउनुहुन्छ ? तपाईंसँग भएको स्मार्टफोनको प्रयोग गरेर तपाईंले नियो बैंकबाट खाले बैंकिङ सेवा आफ्नो घर, कार्यालय वा बाटोमा हिँड्दै गर्दा जहाँबाट पनि लिन सक्नुहुनेछ । आखिर के हो त यो नियो बैंक ?
अवधारणा र इतिहास
नियो बैंकलाई डिजिटल बैंक वा च्यालेन्जर बैंक पनि भनिन्छ । यो यस्तो बैंक हो जसको कुनै भौतिक शाखा हुँदैन ।
सन् २००० को दशकमा परम्परागत बैंकहरूले इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा दिन थालेका थिए । तर ती सबै सेवा शाखासँग जोडिएका थिए । अर्थात् ग्राहकले मोबाइल बैंकिङ एक्भिेट गर्ने कामदेखि अन्य सबै काम शाखा नै पुगेर गर्नैपर्ने हुन्थ्यो ।
सन् २००८ मा विश्वभर आर्थिक मन्दी चुलिएपछि परम्परागत बैंकप्रति मानिसहरूको विश्वास निरन्तर घट्दो रह्यो । यही कालखण्डमा फिनटेक कम्पनीहरू (प्रविधिमार्फत् वित्तीय सेवा तथा उत्पादन प्रदान गर्ने कम्पनी) उदाउने क्रम सुरु भयो । यिनीहरूको उपलब्धताले डिजिटल भुक्तानी, साना कर्जा र अन्य वित्तीय सेवामा सहजता थपिदियो । यसले पूर्णतया डिजिटल रूपमा चल्ने नयाँ बैंकिङ मोडलको बाटो खोलिदियो ।
एक्काइसौँ शताब्दीको दोस्रो दशक सुरु हुनै लाग्दा युरोपमा पहिलो पटक नियो बैंकको जन्म भयो । जर्मनीको फिडोर बैंक (२००९) र एन२६ (२०१३), बेलायतको मोन्जो (२०१५), स्टारलीङ्ग बैंक (२०१४) र रिभोलुट (२०१५) त्यसका प्रारम्भिक उदाहरण हुन् । यी सबैले शाखाविहीन तथा मोबाइल एपमा आधारित बैंकिङ सेवा युवा पुस्ता र प्रविधि–मैत्री ग्राहकमाझ लक्षित गरेका थिए ।
२०१३ मा अमेरिकाले पनि यो प्रविधिलाई अँगाल्यो । त्यहाँ चाइम नामक नियो बैंक पहिलो पटक मानिसहरूको स्मार्टफोनसम्म पुग्यो । बिस्तारै ब्राजिलमा पनि पहिलो नियो बैंक नुब्याङ्क नामबाट २०१३ मा सुरु भयो । छिमेकी मुलुक भारतमा पनि यो प्रविधि भित्रिसकेको छ । त्यहाँ सन् २०१७ मा ओपन नामक नियो बैंकको लन्च गरिएको थियो । ओपनको सफलता पछि भारतमा रेजरपे एक्स र जुपिटर लगायत नियो बैंकहरूले पनि आफ्नो बजार विस्तार गरिरहेका छन् ।
नेपालमा नियो बैंकको अवस्था
नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा नियो बैंक सञ्चालनमा ल्याउने योजना बनाएको छ । यसअघि पनि सरकारले बजेटमार्फत डिजिटल बैंक स्थापनाका लागि आवश्यक कानुनी र संस्थागत पूर्वाधार तयार गर्ने बताएको थियो ।
केही समयअघि सनराइज बैंकले “ओरेन्ज एनएक्सटी” नामक एप ल्याएको थियो जुन नियो बैंकको अवधारणासँग मिल्दोजुल्दो थियो । तर राष्ट्र बैंकले त्यसलाई नियमन गर्ने कानुन बनिनसकेको भन्दै बन्द गर्न निर्देशन दिएको थियो । यसले नेपालमा नियो बैंक सञ्चालनका लागि स्पष्ट नीतिगत व्यवस्थाको आवश्यकता रहेको देखाउँछ ।
कसरी अगाडि बढ्नुपर्छ नेपाल ?
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार नियो बैंकको अवधारणालाई सफल बनाउन विश्वासको वातावरण सिर्जना गर्नु सबैभन्दा ठूलो चुनौती हो । उनी भन्छन्, “कुनै पनि नयाँ प्रविधिलाई स्वीकार्न समय लाग्छ । धेरै मानिस आज पनि अनलाईन कारोबार गर्नभन्दा चेक काटेरै कारोबार गर्न बढी रुचाउँछन् ।”
उनका अनुसार राष्ट्र बैंकले नियो बैंकलाई लाइसेन्स दिएपछि नियामक निकायको निगरानी रहने हुँदा ग्राहकमा सुरक्षाको प्रत्याभूति हुन्छ र विश्वास बढ्छ । “सुरुवाती चरणमा कुनै पनि नकारात्मक घटना भएन भने बिस्तारै मानिसहरूले यसलाई अपनाउँदै जान्छन् । नियामक निकायको बलियो साथ र समर्थन भयो भने यसको भविष्य राम्रो छ,” थापाले थपे ।
नियो बैंकको सञ्चालन फिनटेक कम्पनीहरूको विकसित रूप हुने भएकाले उनीहरूलाई राष्ट्र बैंकले लाइसेन्स दिएर नियमनको दायरामा ल्याउनुपर्ने उनको सुझाव छ ।
नियो बैंकका फाइदा
नियो बैंकको भौतिक शाखा नहुने हुँदा यसको सञ्चालन खर्च कम लाग्छ । यसरी बैंकले ग्राहकहरूलाई न्यूनतम शुल्कमा सेवा दिन सक्छ । परम्परागत बैंक सञ्चालन हुने निश्चित अवधि हुन्छ । त्यस्ता बैंक दिनभर निश्चित घण्टाका लागि मात्रै खुल्छन् । तर नियो बैंकबाट २४सै घण्टा बैंकिङ सेवा लिन सकिन्छ । नियो बैंकले पर्सनलाइज्ड सेवा अर्थात् व्यक्ति केन्द्रित सेवा दिने क्षमता राख्दछ । खर्चको विश्लेषण गर्ने जस्ता व्यक्तिगत वित्तीय व्यवस्थापनका सुविधाहरू पनि यसमा उपलब्ध हुन्छन् ।
यसका चुनौतीहरू
डिजिटल स्वरूपमा हुने हुँदा सुरक्षा र डाटा गोपनीयताको चिन्ताले गर्दा ग्राहकको विश्वास जित्न गाह्रो हुन सक्छ । इन्टरनेट वा अन्य कुनै प्राविधिक समस्या आउँदा सेवा अवरुद्ध हुन सक्ने जोखिम पनि रहन्छ । अझ इन्टरनेटको राम्रो कनेक्टिभिटी नभएको ठाउँमा बस्ने बासिन्दाले नियो बैंक फाइदा उपभोग गर्ने सम्भावना पनि न्यून रहन्छ ।
विश्व बजारको अवस्था
विश्वव्यापी रूपमा नियो बैंकको बजार तीव्र गतिमा विस्तार भइरहेको छ । सन् २०२१ मा विश्वभरका नियो बैंकको बजारको आकार ४५ अर्ब अमेरिकी डलरभन्दा बढी थियो । यो बजार सन् २०२२ देखि २०३० सम्ममा हरेक वर्ष ५३.४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । बढ्दो डिजिटलाइजेसन र ग्राहकहरूमाझ सुविधाजनक बैंकिङको माग बढ्दै जाँदा यसको बजार भविष्यमा अझै फराकिलो हुने निश्चित छ । नेपालले पनि सही नीति र बलियो नियामक संरचना तयार गरेर यो अवसरको फाइदा उठाउन सक्छ ।


































