काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामा तथा मध्यम दूरीका सवारी साधनले १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाउन सक्ने ट्राफिक कार्यालयले जनाएको छ ।
नयाँबसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा समेत गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट बाढी–पहिरोका साथै सडकको अवस्था बारे जानकारी दिइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।
ती नागरिक सहायता कक्षबाट सवारी चालक र परिचालकका साथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा जानकारी प्रदान गरिने कार्यालयले जनाएको छ । कक्षको शुक्रबार एक कार्यक्रम बीच उद्घाटन गरिएको हो ।
राजधानीको गोङ्गबु स्थित नयाँबसपार्कमा आयोजित उक्त समारोहमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा गोबिन्द थापा लगायतको सहभागिता थियो ।
कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बाढी पहिरोका कारण सडक अवरुद्ध भई अप्रिय घटना घट्ने सम्भावना रहेका कारण नागरिक सहायता कक्षको स्थापना गरिएको बताए ।






































