काठमाडौँ । बीपी राजमार्गमा १५ दिनका लागि दैनिक साढे ११ घण्टा गाडी चलाउन रोक लगाइएको छ ।
शुक्रबार काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्खामा बाढीपहिरोको जोखिम रहेको भन्दै शुक्रबारदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो । सो निर्णयसँगै उक्त राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म गाडी गुड्न पाउने छैनन् ।
काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो ।
एकैछिनको वर्षामा समेत बाढीपहिरोले राजमार्ग अवरुद्ध गर्ने हुँदा सवारी चलाउन रोकिएको समितिले जनाएको छ ।






































