काठमाडौँ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत आज माघ १५ गते ३० अर्ब रुपैयाँ खिच्न लागेको छ ।
अधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत बैंकिङ्ग प्रणालीबाट आज उक्त रकम बराबरको पैसा खिच्न लागेको हो। यसका लागि दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको फागुन ६ गते साँवा तथा ब्याज भुक्तानी गरिने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
































