काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपियाँ तान्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले आज २१ दिनका लागि उक्त तरलता प्रशोचन गर्ने भएको हो ।
बैंकले एक सूचना जारी गर्दै निक्षेप संकलन उपकरण खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे अनलाइन बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको मंसिर २६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
































