काठमाडौँ । भारतका विद्युत् मन्त्री मनोहर लाल खट्टर नेपाल आइपुगेका छन् । उनी केही समयअघि काठमाडौँ आइपुगेका हुन् । दुई दिने नेपाल भ्रमणका लागि आएका खट्टरलाई विमानस्थलमा ऊर्जा मन्त्रालय र काठमाडौँस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका छन् ।
उनले ऊर्जा मन्त्री दीपक खड्कासँगै भारतको सहयोगमा निर्माण सम्पन्न भएको कोशी कोरिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसन उद्घाटन गर्नेछन्।
खट्टरले भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतीय मन्त्री खट्टरले संखुवासभा जिल्लास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनका क्रममा अहिले त्यसतर्फ प्रस्थान गरेका छन् ।
संखुवासभाको मकालु गाउँपालिकामा एक खर्ब चार अर्बको भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ सालमा संयुक्त रुपमा शिलान्यास गरेका थिए । दुईदिने भ्रमणका क्रममा नेपाल आएका मन्त्री खट्टरले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी नेपाल भ्रमणका क्रममा उनले मुस्ताङ र पशुपतिनाथको समेत धार्मिक यात्रा गर्ने भएका छन् । संखुवासभाको मकालु गाउँपालिकामा एक खर्ब चार अर्बको भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ सालमा संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
यसैगरी नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनसँग सम्बन्धित काठमाडौँमा आज हुने सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा मन्त्री खट्टर सहभागी हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।



































