काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारीमा जुटेको छ। यस पटक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लचिलो ल्याउने सम्भावना र विश्वास बढी नै रहेको जानकारहरूको भनाई छ ।
राष्ट्रबैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलका अनुसार मौद्रिक नीतिको समीक्षाको लागि सम्बन्धित विभागसँग विविध विषयमा तयारी र छलफल भइरहेको बताएका छन् ।
आर्थिक अनुसन्धान विभागले यसैसाताभरमा मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने गरी तीव्र तयारीमा जुटेको र हाल गभर्नरले लिड गर्ने व्यवस्थापन कमिटी र नेपाल राष्ट्रबैंकको बोर्डमो छलफलको अन्तिम तयारी रहेको पोखरेलले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् । साथै कुन कुन विषय फेरबदल हुन्छ भन्ने यकिन नभए पनि यस पटकको मौद्रिक नीतिको समीक्षा अपेक्षाकृत आउन सक्ने सम्भावना रहेको उनको भनाई छ।
राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्था अनुसार मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनसम्म सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ। सोही अनुसार, चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन १५ गतेभित्र ल्याइसक्नुपर्ने छ। व्यवस्थाकै अधीनमा रहेर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने पुरापुर तयारीमा रहेको आर्थिक अनुसन्धान विभागले जनाएको छ।
राष्ट्रबैंका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल पूरा हुन करिब साढे १ महिना जस्तो मात्रै बाँकी छ । २०७६ चैत २४ गते अधिकारी नेपाल राष्ट्र बैंकको १७ औँ गभर्नर बनेका थिए। उनको ५ वर्षे कार्यकाल २०८१ चैत २५ गते सकिँदै छ । अधिकारीको कार्यकाल पूरा हुँदै गर्दा बिदा हुने समयमा आएर यसअघिका कडा नीति संशोधन गरेर जनताको मन जित्ने प्रयास गर्नेछन् भन्ने चौतर्फी चर्चा चुलिएको छ ।
तर, मौद्रिक नीतिको समीक्षा निरन्तर प्रक्रिया भएकाले बजारमा हल्ला गरिए जस्तो व्यापक फेरबदल नहुने सम्भावना पनि सँगै जोडिएर आएको छ । बैंक तथा वित्तीय संस्थामा वैदेशिक लगानी भित्र्याउनका लागि आवश्यक नीति तथा वातावरणमा सहजीकरण गरिनुपर्ने, बैकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा व्यवस्थालाई थप सहजीकरण हुनुपर्ने, संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण हुने व्यवस्थामा सहजीकरण हुनुपर्ने लगायतको माग सम्बोधन गरिनुपर्ने लगानीकर्ताको माग रहेको छ ।
के चाहन्छन् लगानीकर्ता ?
यता बैंकरहरुले, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत केन्द्रीय बैंकले अहिलेको बैंकमा थुप्रिँदै गएको तरलता,कर्जा प्रवाहले गति लिन नसकेकोले तरलता व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जालाई न्यूनीकरण गर्ने खालको व्यवस्था ल्याउनुपर्ने माग गरिरहेको समयमा शेयर लगानीकर्ताहरूले भने आफ्ना पुरानै मागहरू यथावत् रहेको जनाएका छन् ।
सेयर लगानीकर्ताले सेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको सीमा हट्न पर्ने र कर्जामा लगाइएको जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने माग राखेका छन्।
नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेलले यस पटकको मौद्रिक नीति लगानीकर्ताको पक्षमा सहजता ल्याउने किसिमले ल्याउनुपर्ने धारणा राखेकी छिन् । यस अगाडिका मौद्रिक नीतिले बजारको विकासका लागि अपेक्षाकृत सम्बोधन गर्न नसकेको भन्दै यस पटकको मौद्रिक नीतिको समीक्षाले विगतको कमजोरी नदोहोर्याउने कुरामा आफू आशावादी रहेको बताएकी छिन्।
कुनै पनि देशको पुँजी बजारलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा हेरिने कुरा सम्बन्धित निकायले बिर्सन नहुने उनको भनाई छ । अध्यक्ष पोखरेले सेयर कर्जामा लगाइएको क्याप हटाउनु पर्ने , भारित औषत १०० कायम गरी पटक पटक परिवर्तन नहुने नीति नियम बनाउनु पर्ने, सेयर धितो कर्जाको सीमा ८० प्रतिशत पुर्याउने व्यवस्था गर्ने लगायतको विषयमा ध्यान पुग्नुपर्ने बताएकी छिन्।
त्यस्तै, अर्को लगानीकर्ता तथा विश्लेषक राजन लम्सालले शेयर बजार र आम लगानीकर्ताका हिट हुने गरी मौद्रिक नीतिको समीक्षा आउनुपर्ने र गभर्नर अधिकारीको अन्तिम कार्यकाल भएको कारण पनि अपेक्षा अनुसार र लगानीमैत्री वातावरण निर्माण गर्ने गरी नै मौद्रिक नीतिको समीक्षा आउने कुरामा आफू आशावादी भएको बताएका छन् ।
































