काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेका छन्। अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकामा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो नीति असारभित्रै ल्याएका सार्वजनिक गरिसकेका छन्।
वित्त नीति (बजेट) साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो। मौद्रिक नीति मार्फत सहज मुद्रास्फीति, सुविधाजनक विदेशी विनिमय सञ्चितिको स्थिति र परिदृश्यलाई मध्यनजर गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनेर आएको जानकारहरूको भनाई छ ।
सोही सन्दर्भमा आर्थिक भ्वाइसले अर्थविद् डा.चन्द्रमणि अधिकारीलाई आगामी मौद्रिक नीतिको प्रभावकारिता बारे सोधेको छ । प्रस्तुत छ अधिकारीको धारणा यस अगाडिको तुलनामा मौद्रिक नीति थप लचिलो बनेर आएको छ । तर यसलाई विशेष ढंगले लिएको छैन यो एउटा प्रक्रिया नै हो आउनुपर्ने थियो त्यो आए केही लचकता सहित आएको कारण यसलाई सार्थक मान्न सकिन्छ ।
तर आमूल परिवर्तन हुने खालको चाहिँ आएको छैन । हामीले मौद्रिक नीतिमा धेरै कुरा अपेक्षा गर्नु पनि हुँदैन भन्ने मेरो मान्यता छ । बैंकमा पैसा थुप्रिएर बसेको छ । अहिले बैंकहरुमा पर्याप्त तरलता हुँदा समेत कर्जा किन गएन भन्ने प्रश्न मुख्य रूपमा खडा भएको छ । त्यस्तै दोस्रो प्रश्नको रूपमा बैंकहरूले लगानी गरेको पैसा पनि किन उठ्न सकेको छैन भन्ने पनि हो।
बैंकहरुको एनपीएल बढेको छ । यी समस्या सम्बोधन गर्न के ल्यायो भन्दा पुँजी कोषमा सरलता हुने गरी मौद्रिक नीति आएको छ । बैंकको ब्याजदर त दुई अंकबाट घटेको छ । बैंकको ब्याजदरका कारण कर्जा प्रवाह नभएको त होइन रहेछ। अन्य कारण पनि हुँदा रहेछन् । यसर्थ भ्रष्टाचारको जालो छ । प्रशासनिक कुरा छन् । सुशासन सम्बन्धी कानुनको गम्भीर पूर्वक पालना गर्नुप¥यो । पूर्वाधार पनि राम्रो पाइयो । सडक राम्रो हुनुपर्छ । काठमाडौँबाट बाहिर निस्कने सडक राम्रा छैनन् । कतिपय सडक २० वर्षदेखि अझै निर्माणाधीन छन् ।
आर्थिक व्यवस्थापन राम्रो छैन । प्रणाली राम्रो छैन । जनशक्तिको अभाव हुन थालिसक्यो । लेबर छैन काम गर्न । विद्यार्थी र रोजगारीको नाममा विदेश जान्छन् । लागत र उत्पादनमा ठुलो अन्तर छ । करसम्बन्धी व्यवस्था कडा छ ।साना व्यवसायलाई पनि सरल ढंगले खाता सञ्चालन र ऋण लिने सेवा हुनुपर्छ । ठूला निक्षेपकर्तालाई चाहिँ सहज छ । सबै कुरालाई मौद्रिक नीतिले सम्बोधन पनि गर्दैन । यस कारण सबै कुरा मौद्रिक मानीतिमा निर्भर हुनुहुँदैन वा मौद्रिक नीतिमा सबै अपेक्षा राखिनु हुदैन् ।
ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई ६.० प्रतिशत र ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत दरलाई ४.५ प्रतिशत कायम गरिएको छ यसले बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग भएको अधिक तरलता नेपाल राष्ट्र बैंकको निक्षेपमा राखी कमाउने ब्याज आम्दानी मा कमी आउने सकंत गर्दछ ।
त्यस्तै, आवासीय घर निर्माण खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा रु २ करोडबाट बढाई रु ३ करोड कायम गरिने कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइने भनिएको छ। यसले आवासीय घर कर्जा को सीमा र कर्जा अनुपात बढ्न गई रियलस्टेट सेक्टरमा रियलस्टेट सेक्टरलाई चलायमान बनाउन मद्दत पुग्ने संकेत गर्दछ ।
लगातार विदेशी विनिमयको सञ्चिति बढिरहेको हुँदा यसपालि मौद्रिक नीतिले विदेश जाने नेपाली नागरिकले पाउने डलर सटही सुविधा पनि बढाइदिएको छ। भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रति पटक २५ सय अमेरिकी डलरको सटही सुविधा दिइने व्यवस्था रहेकोमा वृद्धि गरी ३ हजार अमेरिकी डलर पुर्याइएको छ यो कुनै नौलो कुरा हो भन्ने मलाई लाग्दैन तीन हजारको ठाउँमा ४५ सय राखिनुपर्थ्यो भन्ने मेरो धारणा हो।
मैले पटक पटक भनिरहेको छु कि मौद्रिक नीतिमा हाम्रो अपेक्षा अनावश्यक रूपमा ठुलो भयो त्यतिधेरै रूपमा गहिरिन आवश्यक छ जस्तो नै लाग्दैन बैंक वित्तीय संस्थाका हितमा आएको प्रस्ट देखिन्छ । उपकरण ल्याएको परिवर्तन नै नीतिगत ब्याजदर घटाएको छ । आवासीय घर निर्माण खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा बढाएको छ । हाम्रो उत्पादनमा लगानी काहीँ देखिदैन् निश्चित व्यक्ति र बैंक वित्तीय संस्थालाई मात्रै राहत मिल्ने मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा सुधार गर्न सक्दैन भन्ने मेरो मान्यता हो ।
केही समयदेखि ब्याजदर न्यून हुँदै आइरहेकोमा मौद्रिक नीतिले त्यसलाई थप खुकुलो बनाउने देखिन्छ। ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई साढे ६ बाट घटाएर ६ प्रतिशत, अनि ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत निर्धारण गरिएको छ यसले लगानीकर्तालाई राहत महसुस हुने देखिएपनि प्रभाव भने त्यतिविधि हुन सक्ने देखिदैन् । अहिलेको मौद्रिक नीतिको चौतर्फी चर्चा चुलिएको भए पनि मुख्यक्षेत्रहरु भने त्यतिबिधि सन्तुष्ट छैनन् ।
यसकारण सारांशमा भन्ने हो भने सामान्यतया मौद्रिक नीतिमा पहिलेभन्दा सामान्य लचक आएको साँचो हो । तर सबै समाधान मौद्रिक नीतिले समाधान गर्दैन तर हाल जुन नीतिगत व्यवस्था गरेको छ त्यसकालाई कार्यान्वयनमा ल्याउन सकेको खण्डमा घरजग्गा कारोबार बढ्ने, शेयर कारोबार बढ्ने र केही मात्रामा अर्थतन्त्रमा देखिएको चाप कम हुने मान्न सकिन्छ ।


































