काठमाडौं । रसुवागढीमा भएको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल रसुवा जाने भएका छन्।
अर्थमन्त्रीसँगै अर्थसचिव घनश्याम उपाध्याय र भन्सार विभागका महानिर्देशक महेश भट्टराई पनि टोलीमा सहभागी छन्। यसका लागि हेलिकोप्टरको व्यवस्था गर्न अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ।
गएको राति आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ। हालसम्म कम्तीमा १८ जना बेपत्ता छन् भने २ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनालाई उद्धार गरिसकेको छ।
बाढीको बेला रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरी प्रमुख डीएसपी हेम शाही भने काठमाडौंमा थिए। उनीहरू गृह मन्त्रालयद्वारा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन काठमाडौं आएका थिए।






































