विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले आज (सोमबार) विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
साथै अर्थमन्त्री महतले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन र ब्यक्तिगत फाइदा नहेर्न कर्मचारीलाई आग्रह गरे ।
त्यस्तै उनले मुल्य अभिवृद्धि कर राजश्वको महत्वपूर्ण पक्ष भएको पनि बताए । उनले आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी रहेको र त्यो काम कर्मचारीबाट हुनुपर्ने बताए ।
‘अहिले बजेटले करका दायरा फराकिलो बनाएको छ, यसमा तपाईंहरुले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मुल्य अभिवृद्धि कर राजश्वको महत्वपूर्ण पक्ष हो तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ’ मन्त्री डा. महतले भने, ‘आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ ।’
उनले आम नागरिकलाई दुःख दिने काम नगर्न समेत कर्मचारीलाई आग्रह गरे ।


































