काठमाडौँ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआईएन)ले भ्रष्टाचार अवधारणा सूचकांक–२०२४ सार्वजनिक गरेको छ।
१८० देश सम्मिलित यस सूचकांकमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रूपमा स्थापित छ। साउथ सुडान ८ अंक प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा अंकित भएको छ ।
काठमाडौँमा पत्रकार सम्मेलन गर्दै टीआईएनले भ्रष्टाचार सूचकांकमा समेटिएका १८० देशको सूची सार्वजनिक गरेको हो।
दोस्रो सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड रहेको छ। यो मुलुकले ८८ अंक प्राप्त गरेको छ। तेस्रोमा ८४ अंकका साथ सिंगापुर रहेको छ। विश्वकै सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा दक्षिण सुडान परेको छ। यो देशले ८ अंकमात्रै प्राप्त गरेको छ। दोस्रो धेरै भ्रष्टाचार हुने देशमा सोमालियाले ९ अंक र तेस्रो भेनेज्युलाले १० अंक प्राप्त गरेका छन्।
सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ । विगत ५ वर्षमा ७ वटा मुलुकहरूले भ्रष्टाचार अवधारणा सूचकांकमा उल्लेख्य प्रगति हासिल गरेका छन् । सन् २०२४ मा विश्वका दुई तिहाइ देशहरूले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन् । सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा परेको छ। नेपालले १०० मा जम्मा ३४ अंक प्राप्त गरेको छ। गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो।
त्यस्तै, छिमेकी मुलुक भारतले १०० अंकमा ३८ र चीनले ४३ अंक पाएका छन्। ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वमा विभिन्न संस्थाले गर्ने अध्ययनमा भ्रष्टाचार, सुशासन र घुस खोरीका बारेमा सोधिने प्रश्न र सर्वेक्षणलाई आधार बनाएर भ्रष्टाचार अवधारणा सूचकांक तयार गर्छ। विश्वका दुई तिहाइ देशले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन्। सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष ४३ कायम भएको छ।
दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ७२ अंक, भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, नेपालले ३४ अंक, श्रीलंकाले ३२ अंक, पाकिस्तानले २७ अंक, बंगलादेशले २३ अंक र अफगानिस्तानले १७ अंक प्राप्त गरेका छन् ।


































