काठमाडौँ। सरकारलाई २० दिन भित्र विद्यालय शिक्षा ऐन जारी गर्न शिक्षक महासंघले अल्टिमेटम दिएको छ। महासंघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न अल्टिमेटम दिएको छ ।
‘संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरी कम्तीमा २१ साउन २०८२ अघि पारित गराउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौँ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा छ।
‘अहिलेसम्मको समग्र अवस्था विश्लेषण गर्दा राज्यपक्ष फेरि नेपाली शिक्षक–कर्मचारीलाई धोका दिन र आन्दोलन तर्फ धकेल्न उद्दत रहेको प्रतीत हुन्छ ।
साथै, ‘यो अवधिमा विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भई अघि नबढेमा वा नेपाल शिक्षक महासंघसँग भएका सहमति विपरीत प्रबन्ध गरी अघि बढेमा महासंघ विगतमा भन्दा कडा र सशक्त आन्दोलन गर्ने कुरा उद्घोष गर्दछ । आन्दोलनका कार्यक्रम यथासमयमा सार्वजनिक गरिनेछ,’ विज्ञप्तिमा छ ।
विधेयक पारित नभएपछि आन्दोलन र त्यसबाट उत्पन्न हुने कठोर परिणामप्रति राज्यपक्ष नै जिम्मेवार हुने महासंघले जनाएको छ ।


































