गत आर्थिक वर्ष २०८१८२ मा सवारी दुर्घटनाको स्थिति थप भयावह बनेको छ । प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार झन्डै एक दिनमा सातदेखि १० जनाको मृत्यु हुने गरेको छ । त्यसमध्येमा मधेस प्रदेशमा बढी घटना घटिरहेको बताएका छन्।
शुक्रवार संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै थापाले गत आ.व.२०८१/०८२ मा मात्रै २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना भएको र उक्त घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
महानिरीक्षक थापाले भने 'सवारी दुर्घटनाको स्थिति भयावह नै छ। झन्डै एक दिनमा सातदेखि १० जनाको मृत्यु हुन्छ। सबैभन्दा बढी मधेस प्रदेशमा नै छ। २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ, गत वर्षमा । पहिलाको भन्दा बढेको अवस्था छ । यो संख्या २५.१५ प्रतिशतले बढेको छ ।’
महानिरीक्षक थापाले शान्ति सुरक्षा सही ठाउँमा रहेको बताउदै एक दिनमा नेपाल प्रहरीले २ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९, पैदल गस्ती १ हजार १ सय १०, ग्रामिण गस्ती ७ सय १२ हुने गरेको बताए ।
२४ घण्टामा ३० हजार ३ सय ७४ जनशक्ति सुरक्षामा खटिने थापाको भनाई छ । नेपाल प्रहरीलाई नेपालभर २४ घण्टामा ७ हजार २ सय ५५ वटा आउने गरेको महानिरिक्षक थापाको भनाई छ।


































