काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने वित्तीय लेनदेनमा जोखिम बढिरहेको अवस्था रहेको बताउदै सुरक्षा उपायहरू कडा रूपमा अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
डिजिटल प्रविधिको प्रयोग बढेसँगै साइबर हमलाको सम्भावना पनि उच्च हुँदै गएको बैंकले जारी गरेको सचेतनामूलक सन्देशमा उल्लेख छ । राष्ट्र बैंकका अधिकारीहरूले सुरक्षित डिजिटल कारोबारका लागि तीन स्तरको सुरक्षा प्रणाली अनिवार्य रूपमा पालन गर्नु अत्यावश्यक रहेको बताएका छन् ।
यस्तो छ तीन तहको सुरक्षा प्रणाली :
पहिलो तह : यो तहले तपाइलाई मात्रै थाहा हुने जानकारीलाई जनाउँछ ।
दोस्रो तह : तपाईँसँग मात्र हुने यो तहमा त्यस्ता वस्तु पर्छन्, जसको पहुँच केबल तपाईँसँग मात्रै हुन्छ । यसमा मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन जस्ता उपकरणहरू समावेश हुन्छन् । यी माध्यमहरूले प्रयोगकर्ताको पहिचान प्रमाणीकरण गर्न सहयोग पुर्याउने बैंकको भनाइ छ ।
तेस्रो तह : यस अन्तर्गत औँठाछाप, अनुहार चिन्ने प्रणाली व्यक्तिगत बायोमेट्रिक विवरणहरू, आँखाको स्क्यान जस्ता बायोमेट्रिक विवरण पर्छन् । डिजिटल वित्तीय कारोबार गर्दा उल्लिखित प्रमाणीकरण विधिहरू प्रयोग गर्न र आफ्ना व्यक्तिगत विवरण अत्यन्त गोप्य राख्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
































