काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २६, सामाखुसीबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेची नगरपालिका वडा नं १० घर भएर सामाखुसी टाउन प्लानिङ नजिक बस्दै आएका ३३ वर्षीय शंकर राजवंशी छन् ।
बुधबार साँझ प्रहरी प्रभाग नयाँ बसपार्कका इन्स्पेक्टर शरण विक्रम शाह नेतृत्वको टोलीले उनको डेरा खानतलासी गरेर १०९.२२ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।
आरोपीको साथबाट ९ थान मोबाइल र ८२ हजार नगद समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । राजवंशीको साथबाट ६ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।
आरोपीले आफ्नो डेराको खाटमुनि लुकाएर राखेको लागुऔषध जोख्न प्रयोग गरेको डिजिटल तराजु पनि प्रहरीले बरामद गरेको छ । आरोपीबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।


































