काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडियोमा आफू र मन्त्रालयको कुनै सम्बन्ध नभएको दाबी गरेका छन्।
आज मन्त्रालयको एकवर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । यतिबेला पोखराको जग्गासँग जोडिएर मन्त्री अधिकारी विवादमा मुछिएका छन् ।
‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन्।
‘‘यो शुद्ध चरित्रहत्या गर्ने प्रयास हो । कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभीष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्नँ भनेँ । त्यसपछि यी कुराहरू बाहिर मन्त्री अधिकारीले पत्रकार सम्मेलन मार्फत भनेका छन् ।
आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेला परे जस्तोसुकै सजाय भोग्न तयार भएको उनको भनाई छ । ‘यहाँहरूले अडियो सुन्नुभएको छ । मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैले यो गर्दिन्छु भन्ने तपाईँहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु,’ मन्त्री अधिकारीले भने ।
उनले कसैले नियोजित रूपमा चलाएका हल्लाको पछि लाग्दा सिङ्गो देशलाई नै असर पर्ने धारणा राखेका छन् । ‘मालपोत अधिकृत सरुवा भएर गएपछि त्यहाँ जाने कुरा पनि भएको छैन। मालपोत अधिकृतले जान्छु भन्नुभएको पनि छैन । उहाँले जान्न भन्नुभएको थियो होला,’ उनले भनेका छन्, ‘उहाँ मुद्दामा पनि जानुभयो । गएपछि उहाँको फैसलामा आएन । अहिले आएर जोडेर अब मेरो नामसँग मुछेर, मेरो परिवारसँग मुछेर हाम्रो चरित्र हत्या गर्ने र आफ्नो अभीष्ट पूरा गर्ने अभ्यास गरिएको छ ।’


































