काठमाडौँ । ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरेको आइपीओ बाँडफाँट भएको छ ।
कम्पनीले गत वैशाख ८ देखि २२ गतेसम्म पहिलो चरणमा निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी प्रतिकित्ता १ सय रुपैयाँ दरमा कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्ने योजना ल्याएको हो।
यसमा गोलाप्रथामार्फत ३९ हजार ७२६ जना आवेदकलाई १० कित्ताका दरले ३ लाख ९७ हजार १६१.३० कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जानकारी गराएको छ।
वैदेशिक रोजगारीमा रहेकाहरूले बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् । कम्पनीले वैशाख ८ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर बिक्री गरेको थियो ।
यस आईपीओको धितो निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको छ।


































