काठमाडौं। ट्रेड टावर लिमिटेडको आइपीओ आइतबार (असार १ गते) बाँडफाँट हुदैछ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार ट्रेड टावरको आइपीओ असार १ गते आइतबार होटल क्रिष्टल पशुपति, गौशाला काठमाडौंमा बिहान ९।३० बाँडफाँट गर्ने तयारी गरिएको हो ।
ट्रेड टावरको आइपीओमा मागभन्दा ७.८२ गुणा बढी आवेदन परेको छ ।
यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा २१ लाख ६९ हजार ८९१ जनाले कुल २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ४० हजार २४१ जनाको भने हात खाली हुनेछ ।
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ ।
यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले २०८१ मघ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ माघ ७ गतेसम्म बाहल रहनेछ ।


































