काठमाडौँ । सरकारले लामो समयदेखि रोकिएको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान एकैपटक निकासा गरेको छ। विगत दुई वर्षदेखि राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थालाई बाँकी रहेको ब्याज अनुदानको साढे १० अर्ब रुपैयाँ एकैपटक भुक्तानी गरिएको हो।
नेपाल राष्ट्र बैंकले मंगलबार सम्बन्धित बैंकहरूको खातामा उक्त रकम पठाएको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरू प्रसाद पौडेलले जानकारि दिएका छन् ।
यस रकमको भुक्तानी जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारमा अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त भएपछि निर्णय गरिएको थियो। अर्थ मन्त्रालयले निकासा गरेसँगै राष्ट्र बैंकले भुक्तानीको प्रक्रिया अगाडि बढाएको हो।
कार्यकारी निर्देशक पौडेलका अनुसार, हाल चैत मसान्तसम्मको भुक्तानी भए पनि कोषमा रहेको बाँकी रकम अर्को त्रैमासमा गत आर्थिक वर्ष ९२०८२ असार मसान्तसम्मको बक्यौता ब्याज अनुदानको शोधभर्ना भुक्तानीका लागि प्रयोग हुनेछ। चालु आर्थिक वर्षको हकमा भने बजेट अनुसार प्रक्रिया अघि बढ्ने उनले बताए।
विशेषज्ञहरूका अनुसार, एकसाथ साढे १० अर्ब रुपैयाँ बजारमा आउँदा यसले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। बैंकहरूले ऋणीलाई ब्याज अनुदान भुक्तानी गरिसकेका भए, यसले बैंकहरूको तरलता सहज बनाउनेछ। यदि भुक्तानी गर्न बाँकी छ भने, तिहार र छठ पर्वअगावै ऋणीको खातामा ठूलो रकम जम्मा हुने संभावना छ।
कार्यकारी निर्देशक पौडेलका अनुसार, यस ब्याज अनुदानले सहुलियतपूर्ण कर्जा लिएका करिब ९८ हजार ऋणीलाई ठूलो राहत दिन्छ। यसले ऋणीहरूको वित्तीय बोझ कम गर्ने र आर्थिक सशक्तिकरणमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
































