काठमाडौँ । पूर्वबीमा दाबी भुक्तानीमा कमजोरी देखिएपछि नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीमाथि कडा कदम चालेको छ। नियामकले कम्पनीलाई नयाँ पुनर्बीमा व्यवसाय सञ्चालन गर्न अस्थायी रूपमा रोक लगाएको हो।
प्राधिकरणले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार बीमा ऐन, २०७९ को दफा १३६(१) अनुसार कम्पनीलाई चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ।
प्राधिकरणका अनुसार कम्पनीले आफ्नो दाबी भुक्तानीसम्बन्धी दायित्व पूरा नगरेपछि यस्तो निर्णय गरिएको हो।
यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित पाँच जना उच्च व्यवस्थापन अधिकारीसँग प्राधिकरणले स्पष्टीकरण मागिसकेको छ। कम्पनी सञ्चालनमा आर्थिक अनियमितता भएको आशंकाका आधारमा यस्तो कदम चालिएको हो।
उता, सम्पत्ति शुद्धीकरण विभागले पनि फागुन २८ गते प्राधिकरणलाई पत्र पठाउँदै व्यवसायी दीपक भट्टसँग सम्बन्धित सेयर खरिद प्रक्रियामा ३ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी रकम दुरुपयोग भएको आशंकामा छानबिन गर्न निर्देशन दिएको थियो। उक्त रकम विभिन्न कम्पनी, विशेषगरी नेपाल पुनर्बीमा कम्पनीको सेयर खरिदमा प्रयोग भएको हुन सक्ने जनाइएको छ।






























