काठमाण्डौ। बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले आईपीओ निश्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात प्रतिशेयर अंकित मूल्य रु १०० दरको १५,००,००० कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने गरि तयारी अगाडि बढाएको छ ।
यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।
बुढानिलकण्ठ, काठमाण्डौंमा आयोजित एक कार्यक्रममा बुढानिलकण्ठ हेरिटेज लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्की र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
वि.सं २०७५ सालमा प्रा.लि.को रुपमा दर्ता भई वि.संं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडको रजिष्टर्ड ९केन्द्रीय० कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नं. १, काठमाण्डौंमा रहेको छ।
संस्थापकहरुको रु ८५ करोड लगानी रहेको यस कम्पनीको प्राथमिक शेयरको सार्वजनिक निष्काशन पश्चात् चुक्तापूँजी रु १ अर्ब पुग्ने देखिएको छ । अन्तरराष्ट्रिय चेन होटेल अन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले बुढानिलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ।
आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रबद्र्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्स लिमिटेडलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा छन्।


































