काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । भदौ १ गतेदेखि लागू हुने गरी ५ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
बैंकहरूले ब्याजदर घटाएसँगै भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.१३ प्रतिशतमा झरेको छ ।
त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ०.०४ प्रतिशत विन्दुले घटेर ३.०८ प्रतिशतमा आएको छ । साउनमा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.१२ प्रतिशत रहेको थियो ।
भदौका लागि नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
यता कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंकले भने भदौका लागि ब्याजदर यथावत् राखेका छन् ।
यससँगै अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदरमा कुनै परिवर्तन नगरे पनि केही बैंकले दर घटाएपछि समग्र औसत ब्याजदरमा सामान्य कमी आएको छ ।

































