काठमाडौँ । आज बुधवार अर्थात् अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो दिन बुधवार २०२४ को सेयर बजारको यात्रालाई फर्केर हेर्दा केही उपलब्धि र केही नैराश्यता दुवै प्राप्त भएको छ ।
सन २०२४ को अन्तिम कारोबारको दिन (हिजो) मंगलबार नेप्से परिसूचक २५७६.५० विन्दुमा बन्द भएको छ । विभिन्न उतारचढावको बिच २०२४ मा अर्थात् वर्षभरिमा नेप्से परिसूचक ५०७.६ अंकले बढेको छ।
सन् २०२४ को सुरुवाती समयमा बजार निराशाको जालोमा चलेको भए पनि मध्य भागमा आइपुग्दा भने सेयर बजारको लागि केही उपलब्धि प्राप्त भएको छ । उक्त समयमा बजार बुलिस चक्रमा अघि बढ्यो तथापि, यो चक्र भने धेरै लामो समयसम्म भने टिक्न सकेन । वर्षभरिको अधिकांश समय नेप्से परिसूचक वियरिस चक्रमा नै घुमिरह्यो।त्यसको बाबजुत पनि केही दिनको कारोबारमा सकारात्मक सर्किट लागेर बजार बढ्दा लगानीकर्तामा उत्साह थपिएको थियो।
अहिले नेप्से पुनः २५–२६ सयको तहमा घुमिरहेको भएपनि वर्षको मध्य भागमा आउँदा १८ सयको लेबलमा नेप्से सूचक ३ हजार आसपाससम्म पुग्न सफल भएको थियो । अर्थतन्त्रमा आएको मन्दीको प्रत्यक्ष असर यो वर्ष पनि सेयर बजारमा कायम नै रह्यो। यसैबिच, केन्द्रीय बैंक यो वर्ष भने सेयर बजारको लागि केही लचक बनेको मान्न सकिन्छ ।
सेयर बजारका संस्थागत लगानीकर्ताका लागि लगाइएको सेयर धितो कर्जामा २० करोडको क्याप सन् २०२४मा खारेज गरिएको छ। नेप्सेमा सूचीकृत कर्णाली डेभलपमेन्ट बैंकलाई केन्द्रीय बैंकले समस्याग्रस्त घोषणा गरेर कारोबार रोक्का गरिदिएको छ।
त्यस्तै, सन २०२४ मा पुँजी बजारको निकाय र योसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले नयाँ नेतृत्व पाएको छ। साथै, करिब १ वर्षदेखि नेतृत्वविहीन रहेको नेपाल धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठ आएका छन्। धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएसँगै अब पुँजी बजारको सुधार र विस्तारमा उनले काम गर्ने अपेक्षा आम लगानीकर्ताको रहेको छ।
यता, ४ महिनादेखि रिक्त धितोपत्र कारोबार राफसाफ कम्पनी सीडीएस एन्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० को प्रमुख कार्यकारी अधिकृत ९सीइओ० मा प्रविन पन्दाक नियुक्त भएकी छन् ।
त्यस्तै, २०२४ मा पूराना र नयाँ ब्रोकर एसोसिएसनहरु एक आपसमा मर्ज भएर नयाँ नेतृत्व चुनेको छ । अध्यक्षमा सागर ढकाल आएका छन् । भने , नेपाल बैंकर्स एसोसिएसनले समेत नयाँ नेतृत्व पाएको छ। माछापुच्छ्रे बैंकको सीइओले अध्यक्षको जिम्मेवारी पाएका छन् ।
यता, वर्षको सुरुवातदेखि नै रहेको अधिक तरलताको अवस्था वर्षको अन्तिमसम्म पनि कायम रहेको छ । घट्दो ब्याजदरले निरन्तरता पाएको छ । ब्याजदर घट्दै जाँदा सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने लगानीकर्ताको आशा रहेको छ । समग्रमा अपेक्षा अनुसारको परिणाम प्राप्त हुन नसकेपनि केही बुँदागत उपलब्धि शेयर बजारमा भएका छन् । यद्यपि यसले लगानीकर्तालाई त्यतीविधि खुशी भने बनाउन सकेको देखिदैन् । सरकारदेखि नियामक निकायसम्मले बारम्बार सेयर बजारप्रति नकारात्मक प्रहार पारेको लगानीकर्ताको गुनासो छ ।
आम लगानीकर्तालाई २०२५ मा शेयर बजारका यात्रामा सुधार आओस् भन्ने अपेक्षा छ । सन् २०२५ लगानीकर्ताको लागि सुनौलो वर्ष बनोस् भन्ने उनीहरूको चाहाना छ । अहिले धितो कर्जामा लाग्दै आएको जोखिम भार घटाउनुपर्ने केही लगानीकर्ताको निरन्तरको माग छ । अहिले पनि ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार कायम छ । आगामी वर्षको मौद्रिक नीतिले यसलाई राफसाफ गरियोस् भन्ने उनीहरूको चाहाना छ । भने अहिलेको व्यक्तिले अधिकतम १५ करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था समेत आगामी मौद्रिक नीतिले हटाएको खण्डमा शेयर बजारमा उमङ्ग आउने लगानीकर्ताको अपेक्षा रहेको छ ।
































