काठमाडौँ । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनमा उल्लेख्य गिरावट आउँदा चाँदीको मूल्य पनि ओरालो लागेको हो ।
शुक्रबार सुन प्रतितोला ३ हजार १०० रुपैयाँले घट्दै २ लाख ८२ हजार १०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन भने सुन २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबारको तुलनामा यो १२५ रुपैयाँले कम हो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढाव, कच्चा तेल र अमेरिकी डलरको प्रभाव तथा अमेरिका–इरानबीचको तनावले बहुमूल्य धातुको बजारमा असर पारेको जनाइएको छ । यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो ।





























