काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदी दुबै धातुको मूल्य उकालो लागेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै आइतबार सुनको भाउ उल्लेख्य बढ्दा चाँदीमा पनि सामान्य वृद्धि देखिएको हो।
अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ८४ हजार रुपैयाँमा कायम भएको छ। यसअघि शुक्रबार सुन २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य सुधार आएको छ। शुक्रबार प्रतितोला ४ हजार २०० रुपैयाँमा रहेको चाँदी आइतबार ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ पुगेको छ।
विश्व बजारमा भइरहेको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको हो। सुनको मूल्य फेरि बढेसँगै गहना खरिद गर्ने उपभोक्तामाथि थप आर्थिक भार परेको छ।






























