काठमाडौं । आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना तथा वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासन, असुली र लेखाङ्कनलाई व्यवस्थित गर्न ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ।
आर्थिक ऐन, २०८३ को दफा १४ अनुसार नेपालमा उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सीप प्रवर्द्धन शुल्क असुल गर्ने व्यवस्था गरिएको थियो। सोही व्यवस्थालाई कार्यान्वयन गर्न विभागले शुल्क असुली, दाखिला, कारोबारको लेखाङ्कन, विवरण पेस, परीक्षण तथा पुनरावेदनसम्बन्धी प्रावधान समेटेर कार्यविधि ल्याएको हो।
कार्यविधिअनुसार नेपालमा उपभोगका लागि अन्तिम उपभोक्तालाई बिक्री गरिने सुन, सुनका गरगहना तथा वस्तु र चाँदी वा चाँदीका गरगहना तथा वस्तुको बिक्री मूल्यमा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्नेछ।
सीप प्रवर्द्धन शुल्क लाग्ने कारोबार गर्ने व्यवसायीले तोकिएको ढाँचामा बिजक जारी गर्नुपर्नेछ। कारोबारको लेखाङ्कन प्रोद्भावी (एक्रुअल) आधारमा गर्नुपर्ने र कारोबार भएको वा नभएको दुवै अवस्थामा प्रत्येक महिनाको विवरण अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
तोकिएको समयभित्र विवरण पेस नगरेमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रतिदिन ०.०५ प्रतिशत वा प्रतिविवरण १ हजार रुपैयाँमध्ये जुन बढी हुन्छ, त्यति रकम थप शुल्कका रूपमा लाग्नेछ।
सुनचाँदी ओसारपसारमा चलान अनिवार्य
व्यवसायीले आफ्नो पसलबाट गरगहना निर्माणका लागि कालीगढकोमा तथा कालीगढबाट व्यवसाय सञ्चालन भएको स्थानमा सुन, चाँदी वा सुनचाँदीका गरगहना तथा वस्तु ओसारपसार गर्दा सम्बन्धित कार्यालयको छाप लागेको तोकिएको ढाँचाको चलान साथमा राख्नुपर्नेछ।
गरगहना निर्माण गर्ने कालीगढले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ।
पुरानो गरगहना साट्दा शुल्कसम्बन्धी व्यवस्था
कार्यविधिले पुरानो सुनचाँदी वा गरगहना खरिद गरी सोही ग्राहकलाई नयाँ गरगहना बिक्री गर्ने अवस्थालाई पनि स्पष्ट पारेको छ।
ग्राहकबाट पुरानो गरगहना खरिद गरी सोही ग्राहकलाई पुरानो गरगहनाको तौल बराबरको मूल्यसम्म नयाँ गरगहना बिक्री गर्दा सीप प्रवर्द्धन शुल्क लाग्ने छैन। तर पुरानो गरगहनाको तौलमा थप गरी नयाँ गरगहना बिक्री गरेमा थप गरिएको सुन वा चाँदीको मूल्य तथा सम्पूर्ण ज्याला–जर्तीमा सीप प्रवर्द्धन शुल्क असुल गर्नुपर्नेछ।
पुरानो सुन बिक्री गर्दा परिचयपत्र अनिवार्य
सर्वसाधारणले व्यवसायीलाई सुन, चाँदी वा सुनचाँदीका गरगहना बिक्री गर्दा आफ्नो परिचय खुल्ने कागजातको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र वा नेपाल सरकारबाट जारी अन्य परिचयपत्रमध्ये कुनै एकको प्रतिलिपि पेस गर्न सकिनेछ।
त्यसरी बिक्री गरिने सुनचाँदी वा गरगहना आफूले खरिद गरेको प्रमाणसमेत पेस गर्नुपर्नेछ। विदेशबाट ल्याइएको सुनचाँदी भएमा त्यसको प्रमाण देखाउनुपर्ने व्यवस्था गरिएको छ।
शुल्क २५ गतेभित्र दाखिला गर्नुपर्ने
कार्यविधिअनुसार सुनचाँदी व्यवसायीले उपभोक्ताबाट संकलन गरेको सीप प्रवर्द्धन शुल्क सम्बन्धित कार्यालयको कोड तथा राजस्व शीर्षक नम्बर ११४१३ मा अर्को महिनाको २५ गतेभित्र दाखिला गर्नुपर्नेछ।
तोकिएको समयभित्र शुल्क दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था गरिएको छ। व्यवसायीले आफ्नो पसलमा कार्यविधिले तोकेको ढाँचाअनुसारको सूचना पाटीसमेत राख्नुपर्नेछ।
शुल्क छली गरे २५ प्रतिशत अतिरिक्त शुल्क
कारोबार परीक्षणका क्रममा सीप प्रवर्द्धन शुल्क छली गरेको पाइएमा कर अधिकृतले शुल्क निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ।
शुल्क असुल नगर्ने, बिक्री कारोबार खण्डीकरण गर्ने, वास्तविक कारोबारभन्दा कम कारोबार घोषणा गरी न्यून शुल्क असुल गर्ने वा अन्य माध्यमबाट शुल्क छली गरेको प्रमाणित भएमा निर्धारित शुल्कमा २५ प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ।
विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार नयाँ कार्यविधिले सीप प्रवर्द्धन शुल्कको प्रशासनदेखि व्यवसायीले पालना गर्नुपर्ने प्रक्रिया र विवरण पेस गर्ने व्यवस्थासम्मलाई स्पष्ट र व्यवस्थित गरेको छ।
































